[Show all top banners]

khoikkhoik

More by khoikkhoik
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बेग्लै मान्छे
[VIEWED 4361 TIMES]
SAVE! for ease of future access.
Posted on 08-08-11 12:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुःखका हाँगा कति हुन्छन्? के यस प्रश्नको हाजिरीजबाफ हुन सक्छ? मलाई सोधिँदो हो त भन्ने थिएँ- अवश्य हुन्छ। प्रमाणका लागि म आफ्नै बालाई उभ्याइदिने थिएँ जसको जीवन दुःख, बाध्यता, विपत्ति, दरिद्रता, धैर्य र प्रतिदानरहित प्रेमको राष्ट्रिय स्रंग्रहालय थियो। 'मजबुरीका नाम महात्मा गान्धी' भन्छन्। त्यसमा म त बाकै नाम राखिदिन चाहन्थेँ।

तथापि उहाँ दुःखी हुनुहुन्नथ्यो। न कुनै कुरामा गुनासो गर्नुहुन्थ्यो।
पुराणमा वर्णित जडभरतजस्तै बा अक्सर मौन रहनुहुन्थ्यो। पातला तिलचामले कपालमुनि चायाँ परेको अनुहार, मधुरा आँखा र सुलुत्त परेको मध्यम आकारको थेप्चो नाकले उहाँको सुधोपनलाई प्रस्टै झल्काउँथे। जडभरतका शत्रु 'भगवान्'का कृपाले नाश भएका थिए। कलियुगमा भने बाजस्ता मान्छेको पनि शत्रु मौलाइरहेका थिए।

बा आफ्नो दुःख कसैलाई बताउनुहुन्नथ्यो। बरु अरुलाई खुवाउँदा, सहयोग गर्न पाउँदा सबै दुःख बिर्सनुहुन्थ्यो। गाउँमा 'मर्दा र पर्दा' लागेसक्दो सहयोग गर्नुहुन्थ्यो। कोही बिरामी पर्दा सबै काम छाडेर अस्पताल पुर्‍याउन अघि सर्नुहुन्थ्यो। बिरामीकै कति आफन्त भने बिनाकाम हल्लिरहेका वा तास खेलिरहेका हुन्थे। यस्तो बेला उहाँको आँखाको उदासी सिमेन्टको भुइँबाट कसिंगरजस्तै बढारिन्थ्यो।
गोरखधन्दाका कतिपय प्रसंगमा भने उहाँको आनीबानी नितान्त परिहासजनक हुन्थ्यो।
बा शाकाहारी हुनुहुन्थ्यो। घरमा मुस्किलले दुई महिनामा एक पल्ट मासु पाक्थ्यो। बा आमासँग भन्नुहुन्थ्यो, 'हेर हीरा, एक भाग मासु मलाई नि दे है?'
'किन, अब मासु खान थालियो?' आमा सोध्नुहुन्थ्यो।
'होइन।'
'किन त?'
'कुकुर, बिरालाका मुख छैन भन्ठान्छेस्? तिनको पनि त आँत हरहर गरिरहेको हुन्छ।' यति भन्दा नभन्दै बा आफैँ दुई डाडु फल मासु भातसँग मुछेर कुकुर वा बिरालालाई दिनुहुन्थ्यो। बाको चाला देखेर आमा जिल्ल पर्नुहुन्थ्यो।
गाउँभरिका कुकुर, बिराला, माग्ने, पागल, कहाँसम्म भने कुखुरा, परेवा, चरा समेत बालाई पछ्याउँथे। बजारबाट केही सामान ल्याउनुभएको छ भने मुस्किलले आधा सामान घर आइपुग्थ्यो। जेठको धुपमा आमा पसिनाको धारा बगाउँदै छ्वाली बालेर गहुँ भुट्नुहुन्थ्यो। बा पहिलो घानै परेवा र चरालाई छरिदिनुहुन्थ्यो।
'आफूलाई खान छैन, किन अन्न नाश गर्नुहुन्छ?' आमा भन्नुहुन्थ्यो।
'चरा, परेवाको मुख छैन? तिनले खाएको चाहिँ नाश हुन्छ?' बा भन्नुहुन्थ्यो।
'काँचै दिए हुन्नथ्यो?'
'त्यति स्वार्थी न हो न हीरा, भुटेको अन्न खान तिनलाई पनि त मन लाग्ला!'
एक पाउ चिनी ल्याउनुभएको छ भने घरमा एक छटाक पनि आइपुग्दैनथ्यो।
'किन? यति हो चिनी?' आमा सोध्नुहुन्थ्यो।
'होइन, एक पाउ नै थियो?'
'खोइ त? एक पाउ भनेको यति हो?'
'कस्तो कुरा गर्छे, गुलियो भनेपछि कमिलालाई पनि त मन पर्छ! तिनको पनि त आँत हरहर गरिरहेको हुन्छ। हामीले मात्र खाएर हुन्छ?'
नभन्दै झ्यालका चौकोसबाहिर बाले छरेको चिनीमा काला, मोटा कमिलाहरू झुम्मिरहेका हुन्थे।
चाडवाडलाई मीठाइ ल्याउनुभएको छ भने माग्ने, पागल र कुकुर, बिरालालाई बाँड्दै आउनुहुन्थ्यो। तिनीहरू उहाँका अघिपछि झुम्मिरहेका हुन्थे।
आमाको नजरमा बा एक नम्बरको 'खुस्केट' हुनुहुन्थ्यो। गाउँलेहरूले त बाको नामपछाडि 'बहुला' उपनामै झुण्ड्याइदिएका थिए। काम पर्दा बालाई चिल्लो घसेर 'दाइ' भन्नेहरू नै पिठिउँपछाडि उहाँले सुन्ने गरेरै 'बहुला' भन्थे। बालाई यस्तो कुरामा कुनै गुनासो थिएन।
गाउँबाट बस चढेर बजार जाँदा चिनेजति सबैको भाडा बाले नै तिरिदिनुहुन्थ्यो। खलाँसी पैसा उठाउँदै आउँथ्यो। गाउँलेहरू उसको कानमा फुसफुसाउँदै भन्थे, 'ऊ त्यही खुस्केटले दिन्छ मोरा, मसँग माग्ने हो?' कतिपय नचिनेकाले पनि उहाँलाई त्यसै भनेर तिर्न लगाउँथे।
बा सबैले सुन्ने गरी खलाँसीलाई भन्नुहुन्थ्यो, 'म दिन्छु, म।' बजारमा किनमेल गर्न उहाँसँग पैसै बाँकी रहन्नथ्यो। कतिसम्म भने फर्कँदा बस भाडा पनि हुँदैनथ्यो। उहाँसँग पैसा नहुँदा न कसैले तिरिदिन्थ्यो, न उहाँ कसैसँग आग्रह गर्नुहुन्थ्यो। खलाँसी स्वयं उहाँको बानी थाहा पाएर हाँस्न थाल्थ्यो। अर्को पल्ट सम्झेर उसको भाडा चुक्ता गर्नुहुन्थ्यो।
एक पल्ट पुसको तुसारोमा बा सूर्यविनायक मन्दिरबाट नांगै खुट्टा घर फर्किनुभयो। उहाँको क्यानबास जुत्ता लगाएर एउटा बहुला पछिपछि आइरहेको थियो।
'को हो यो?' आमाले सोध्नुभयो।
'मान्छे नै हो, नामचाहिँ शम्भु', बाले भन्नुभयो।
'ए मान्छे हो र? म त, वनबाट चितुवा पछि लाएर आउनुभो भन्ठानेको!' बाको नांगो खुट्टा देखेर आमाले सोध्नुभयो, 'पागलको संगत गर्दागर्दै आफैँ पागल हुनुभयो, होइन? खोइ जुत्ता?'
'हेर हीरा, मेरो थोत्रो जुत्ता पनि धन्य रहेछ। यो जाडोमा उहाँलाई काम आयो।'
'लुगा पनि सबै दिएर नाङ्गै आउनुपर्दैनथ्यो! दानी मान्छेले त कट्टुसमेत दिनुपर्थ्यो नि!' आमाले भन्नुभयो।
'लुगा चाहिँदैन, जुत्ता र खाना भए पुग्छ भन्नुभयो। विचरा तीन दिनदेखि भोकै हुनुहुँदोरहेछ।'
'हे भगवान्, घरमा एउटा पागल हुँदाहुँदै अब अर्को पागलको टहल गर्नुपर्ने भयो!'
'त्यसो नभन् हीरा, मलाई जे भन्छेस् भन्, खान नदिने भए नदे, पाहुनाको चाहिँ अपमान नगर है!'
आमा निधारमा हात राखेर खुइए गर्दै आफ्नै भाग्यलाई कोस्न थाल्नुभयो। बा बहुलालाई लिएर कोठामा छिर्नुभयो।
'लौ एउटा गीत गाउनुस् त!'
काम नहुँदा कहिलेकाहीँ बा दिउँसै झुल लगाएर सुत्नुहुन्थ्यो। जिस्काउने पारामा हाँस्दै आमा भन्नुहुन्थ्यो, 'कुकुर, बिरालालाई त्यस्तो माया गर्ने मान्छेले झिंगा र लामखुट्टेलाई पनि रगत चुस्न दिनुपर्छ नि! किन झुल लाउनुभएको?'
बा भन्नुहुन्थ्यो, 'सुन् हीरा, आइमाई किन पछाडि परेका भने तेरो जस्तो बुद्धिले! कुकुर, बिराला, परेवा, चराले मान्छेको कत्रो भलो गरेका छन्! परेवा उडेको हावामा सास फेर्दा मात्र पनि मान्छेको आयु बढ्छ। झिंगा, लामखुट्टेले रगत चुस्ने र रोग सार्नेभन्दा बढी के गरेका छन् भन् त!'
आमा मेला गएको मौका छोपेर बा शम्भे र कृष्णे बहुलालाई कोठामा राखेर खाना खुवाउनुहुन्थ्यो। उनीहरू खुट्टा हल्लाएर गीत गाउँदै खाइरहेका हुन्थे। बालाई तिनले गीत गाएको सुन्न खुबै मन पर्थ्यो।
'अँ, त्यो अस्तिको गीत गाउनुस् न', बा भन्नुहुन्थ्यो।
'कुन गीत?' उनीहरू सोध्थे।
'त्यही क्या त!' बा गीतको बोल सम्झन सक्नुहुन्नथ्यो।
'ल सुन्नस्
कता गयौ सान्नानी हितको परानी
मन डढेर भइसक्यो खरानी
यही होइन?' शम्भे सोध्थ्यो।
'हो हो, फेरि गाउनुस् न!'
दुवै बहुलाहा घाँटीको नशा फुलाई फुलाई गाउन थाल्थे,
'तिम्रो हाम्रो सान्नानी भेट भाको आजै हो,
पहिलो पाला बोल्नलाई लाजै भो।'
'बस, यही हो।'


•••
घरमा चामल, नुन, तेल सबै सकिएका हुन्थे। तर, कसैले माग्दा बा आफूसँग भएको पैसा दिन तयार हुनुहुन्थ्यो। आजित भएर आमाले गुनासो गर्दा शान्त स्वरमा भन्नुहुन्थ्यो, 'हेर हीरा, दुःख नमान्, त्यो पैसा हामीलाई भन्दा बढी उसैलाई खाँचो थियो।'
उहाँका कतिपय क्रियाकलाप महाकवि लक्ष्मीप्रसाद देवकोटासँग मेल खान्थे जो आफ्नो तलब र कोटसमेत माग्नेलाई दिएर खाली हात घर पुग्थे। देवकोटा महान् कवि थिए। पछि मन्त्रीसमेत भएका थिए। उनका हरेक कार्य प्रसिद्ध हुन्थे। नेता, पत्रकार, प्रशासक, व्यापारीहरूसँग उठबस हुँदो हो त बाका कार्य पनि प्रसिद्ध हुन्थे। तर, निम्नमध्यमवर्गीय निरक्षर किसानका दलन, अपमान, अपरिचय, अशिक्षा, विपत्ति र विडम्बना उहाँको जीवनका अभिन्न अंग थिए। आवश्यक पर्दा उहाँलाई वडाअध्यक्षले समेत नचिनेको बहाना गर्थे।
बा उस्तो कमाइ भएको मान्छे पनि होइन। मेहनतपूर्वक तरकारी खेती गर्नुहुन्थ्यो। आकलझुकल सिकर्मी काम पाउनुहुन्थ्यो। धेरैजसो नाफा साहु र तल्सिङले लिन्थे। उहाँको भागमा थोरै कमाइ र धेरै कष्ट रहन्थे तैपनि उहाँलाई कुनै फिक्री हुँदैनथ्यो। धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो। प्रत्येक महिना सत्यनारायणको पूजा लगाउनुहुन्थ्यो। प्रसाद पुर्‍याउन आफैँ घर-घर जानुहुन्थ्यो। मासु खानुहुन्नथ्यो। जातले पाए पनि बु‰ने भएदेखि जाँड, रक्सी छुनुभएको थिएन। सायद त्यसैले छिमेकीको तुलनामा बढी कमाइ गर्नुहुन्थ्यो।
बाका ऋणीहरू अक्सर पैसा फर्काउँदैनथे। कति ऋणी यस्ता हुन्थे जसले पहिलेकै ऋण तिरेका हुँदैनथे। तैपनि दुःख देखाएर उहाँसँग फेरि पैसा फुस्काउन सफल हुन्थे। बा तिनीहरूको जालसाजी बु‰नुहुँदैनथ्यो। उहाँलाई मूर्ख बनाएकामा तिनीहरू हाँसो गर्थे। आपत् पर्दा उहाँलाई ऋण वा सहयोग दिने कोही हुन्नथ्यो। घरका सबै समस्या टार्ने जिम्मा आमाको हुन्थ्यो। आमा तिनीहरूसँग सापटी फिर्ता माग्न जानुहुन्थ्यो। कहिलेकाहीँ यस्तोसम्म हुन्थ्यो, पैसा त फिर्ता आउँदैनथ्यो, उल्टै अपमान र लाञ्छना सहेर फर्कनुहुन्थ्यो। त्यसपछि उहाँका सम्पूर्ण रिस बामाथि खनिन्थ्यो। बा जति लाचार देखिनुहुन्थ्यो, त्यति नै शान्त स्वभाव, धैर्य र अपराजयका प्रतिमूर्ति हुनुहुन्थ्यो। रुनुसिवाय आमासँग कुनै विकल्प रहँदैनथ्यो।


•••
एक पल्ट प्रहरीहरूले बालाई लिएर गए। किन उनीहरूले बालाई लगेका थिए? त्यस्तो प्रस्ट कारण केही थिएन। बा तीन महिना थुनिनुभयो। उहाँ राजनीतिक मान्छे पनि हुनुहुन्नथ्यो। यति हो, २०३७ सालको जनमत संग्रहमा बहुदललाई भोट हाल्नुभएको थियो। घरमा महात्मा गान्धीको तस्बिर भित्तामा झुण्ड्याउनुभएको थियो। त्यतिकै कारण बा थुनिनुभएको थियो त? मलाई लाग्छ, बाको दुःखको जड उहाँकै उदार स्वभाव थियो। उहाँका कतिपय ऋणी पछि शत्रु भएका थिए। तिनैले अ.त. (अराष्ट्रिय तत्व) को पोल लगाएर बालाई प्रहरी खोरसम्म पुर्‍याएका थिए।
बाको बर्बादी तब सुरु भयो जब क्षयरोगले आमा सिकिस्त हुनुभयो। आमा सिकिस्त हुँदा बाले सम्झेसम्म उहाँका ऋणी १७ जना थिए। ऋण फिर्ता माग्दा तिनीहरूमध्ये कतिले उल्टै बालाई हकारेका थिए। कतिले भोलि-भोलि भन्दाभन्दै हाम्रो जिन्दगीकै जहाज डुबाइदिएका थिए। भएजति पैसा उपचारमा सकिइसकेको थियो। अन्ततः नयाँ घर बनाउन जोडिएका र्इँटा, ढुुंगा र कतिपय भाँडाकुँडासमेत बिक्री भएका थिए। तथापि, आमा बाँच्नुभएन। हाम्रो जिन्दगीमा दुःख र विपत्तिको बाढी त्यहीँबाट सुरु भएको थियो।
त्यसै बेला तरकारी लगाउने जमिन तल्सिङले बेचिदिएको थियो। आधुनिक मेसिनरीयुक्त फर्निचरले बाको आंशिक रोजगार पनि खोसिदिएको थियो। बाको जिन्दगीबाट दुःख र लाचारी कहिल्यै बिदा भएनन्, न उहाँका शान्त स्वभाव र धैर्य। म जुन कथा भन्दैछु, खासमा त्यो पनि बाको मौन दुःख, उदासी, विपत्ति, असहायता, धैर्य र शान्त स्वभावकै हृदयविदारक कथा हो।


•••
कुनै चाड थियो। सायद गठाः मुग। खोलाबाट लुगा धोएर फर्केकी काकी एक्कासि आँगनमा पछारिएर बेहोस हुनुभयो। नजिक कतै अस्पताल थिएन। सहर पुर्‍याउन यातायात थिएन। वैद्यले फुक्दाफुक्दै एक घण्टाभित्र प्राणपखेरु उडेर गयो। त्यस्तो अवस्थामा उहाँको मृत्यु भएको थियो जतिखेर काका स्वयं क्षयरोगले हिरिकहिरिक हुनुहुन्थ्यो। अन्न केही नहुँदा दुई दिनदेखि हामी लुँडेको साग, कर्कलो र तातो पानीले छाक टारिरहेका थियौँ। एक वर्षअघि के रोगले हो, काकाका दुई छोरा एकै महिनामा मरेका थिए। तीन वर्षअघि आमा बित्नुभएको थियो। काजकिरिया र भोज गर्दागर्दा बा हरिकंगाल हुनुभएको थियो। अब काकीको पालो थियो। अझ काकासमेत नबाँच्ने घोषणा अस्पतालले नै गरिसकेको थियो। हामी सानै थियौँ। हजुरआमा असाध्ये बुढी हुनुहुन्थ्यो। ऋण लिनेजति सबै बाका शत्रु भएका थिए। के गर्ने? लास कसरी घाट पुर्‍याउने? कुन पैसाले काजकिरिया र भोज गर्ने? बा सायद यही सोचिरहनुभएको थियो।
रुन्चे बालकजस्तै साउने झरी एकनास बर्सिरहेको थियो। बा आँगनमा लास रुँगेर बसिरहनुभएको थियो। उहाँका आँखा अनन्त आकाशजस्तै शून्य-शून्य थिए। अन्धकारजस्तो गाढा दुःख बाको निधारमा घामजस्तै टल्किरहेको थियो।
पिँढीमा हजुरआमा, दिदीहरू छाती पिटीपिटी रोइरहेका थिए। पानीले भिजेर ‰यालमाथि झुण्डिएका तोरीको साग, खुर्सानी र कर्कलाको छुकुनी पनि आँसु झारिरहेका थिए। बाक्लो मकैबारीबीच हाम्रो घरतिर आउने गोरेटो भैँसी हिँड्ने गल्लीजस्तै हिलाम्मे थियो। खुट्टादेखि टाउकासम्म हिलाम्मे मानिसहरू आँगनको डिल र पिँढीमा बसेर तमासा हेरिरहेका थिए।
काकीको 'जात' के थियो? यो हामी बुझ्दैनथ्यौँ। उहाँकै कारण हामीलाई गुठी र देवाली निकाला गरिएको थियो। मृत्युपछि पनि अछुत बनाएर समाज उहाँसँग बदला लिइरहेको थियो। त्यसमाथि, उहाँको मृत्युले सम्पूर्णरूपले तयार चाड छेकिदिएको थियो। घर-घरमा मासु पाकिरहेको थियो। कतिपय आइमाई मरिसकेकी काकीलाई धारे हात लगाइरहेका थिए। लास छुन हाम्रै तेह्रदिने दाजुभाइ तयार थिएनन्। ती मानिसका नाकमुख कतै देखिन्नथ्यो जसलाई आपत्मा बाले हरतरहले सहयोग गर्नुभएको थियो। पञ्च-भलाद्मीहरू चेतावनी दिइरहेका थिए, 'देखा जायगा, लास कसले छुँदोरहेछ!' तिनीहरूमध्ये हाम्रै पुरोहित पनि थिए जो महिनैपिच्छे हामीकहाँ सत्यनारायणको पूजा लगाउन आउँथे र बासँग निकै आत्मीयजस्ता लाग्थे।
केही मानिसले यसविरुद्ध अवश्य बोलेका थिए। तिनलाई तुरुन्तै खेदिएको थियो।
काका आफैँ हिरिकहिरिक हुनुहुन्थ्यो। काकीको मृत्युबारे सायदै उहाँलाई थाहा थियो। थाहा भएपछि के होला? यो बेग्लै पिरलो थियो। दादा टाइपका केही युवक हलक्क बढेका किशोरीहरूका शरीरमा हात हालेर निशङ्कोच जिस्किरहेका थिए। हामी कति दुःखी थियौँ! तिनीहरू हाम्रो दुःखको खिल्ली उडाइरहेका थिए।
बा घरि खोक्नुहुन्थ्यो। घरि पिँढीमा रोइरहेका हजुरआमा र दिदीहरूलाई दुःखी नजरले हेर्नुहुन्थ्यो। कुकुर, बिराला, परेवा बारम्बार उहाँका नजिक आउन खोज्थे। हजुरआमा तिनलाई धपाउनुहुन्थ्यो। बाका मौन आँखा तिनीहरूसँग भनिरहेका हुन्थे, कृपया मलाई माफ गर।


•••
बा बारम्बार डब्बुको बाटो हेरिरहनुभएको थियो जो बजारमा अन्तिम संस्कारका सामान लिन गएको थियो। डब्बु अझै किन आएन? बालाई देख्दा अघिदेखि आँसु थाम्न मलाई हम्मे परिरहेको थियो। म एक्कासि भित्तामा टाउको ठोकेर रुन थालेँ। मैले त्यहाँ अर्को तमासा खडा गरेको थिएँ।
काका ख्वाङ-ख्वाङ खोक्दै कालो रग ओडेर पिँढीमा देखापर्नुभयो। विक्षिप्त स्वरमा रुँदै, आकाशतिर हात फैलाउँदै बर्बराउन थाल्नुभयो, 'कोही चाहिन्न, कोही चाहिन्न, सब जाओ। म एक्लै जलाएर आउँछु।' निकै उत्तेजित हुनुहुन्थ्यो। एक्कासि खुट्टाले भुइँ छाड्यो। पिँढीबाट तल बलेसीमा उँधो मन्टो लाएर लड्नुभयो। निकै बेरसम्म बोल्न सक्नुभएन। काकालाई समाल्दै हजुरआमा रुन थाल्नुभयो। कसैले काकालाई उठाएर माथि लग्यो।
हजुरआमाले भित्र टुकी जगाउनुभयो। एउटा टुकी बाहिर ल्याउनुभयो। साँझको झरीसहितको बतासले झ्याप्प-झ्याप्प निभिरहन्थ्यो। झरी झन्झन् दर्कियो। बाको अनुहारभरि मोतिजस्ता पानीका थोपा टप्किरहेका थिए। ठुकठुक काम्दै परालको मुठोमाथि बसिरहनुभएको थियो। पातलो कपालबाट निधार र नाक हुँदै झरिरहेको पानीले उहाँ निथरुक्कै रुझिसक्नुभएको थियो।
डब्बु अझै आएन। किन आएन?


•••
बाका आँखा एक्कासि चम्किए। रातो धोती र चोलोमा सजिएकी आमा खोलापारी डिलमा उभिएर हातले इशारा गर्दै बालाई बोलाइरहनुभएको थियो। हतारहतार बा त्यतै लम्किरहनुभएको थियो। आमा कति राम्री हुनुहुन्थ्यो, त्यस जमानाको हिन्दी सिनेमाकी वैजन्तीमालाजस्तै। 'जोकर' राज कपुर अनेक दुर्भाग्य झेलिरहेका थिए। आमा ड्याङ भस्याउँदै आलु गोडिरहनुभएको थियो। लहरेपिपल र धुपीका रुख हल्लाएर आएको चिसो बतास उहाँका गाला छुँदै जान्थ्यो र एक सिरा कपाल आँखा छोप्न आइपुग्थ्यो। आमाले आफ्नो काम सिध्याइसक्नुभएको थियो। आलुमा उकेरा दिँदादिँदै बा करुवाबाट कलकल पानी खान थाल्नुभयो। आमा मायालु आँखाले बालाई हेरिरहनुभएको थियो। निकै बेर हेरिरहनुभयो र आँखाभरि आँसु पारेर देव्रे हात हल्लाउँदै टाढाटाढा हुँदै अलप हुनुभयो।
हरे, कस्तो तन्द्रामा पुगेछु! अब त सम्झना र सपनामा बाहेक आमा कहाँ हुनुहुन्थ्यो त? बा एक्कासि आँखा मिच्न थाल्नुभयो। के रुनुभएको? अहो, उहाँ रोएको दृश्य हामी कसरी हेर्न सक्थ्यौँ? होइन, उहाँ त धैर्यको प्रतिमूर्ति नै हुनुहुन्थ्यो! बा सायद काकीको मृत्युलाई दुःखद् सपना ठानेर त्यसबाट उम्कन आँखा मिचिरहनुभएको थियो। कठै, बाका प्रिय कुरा सपना भइसकेका थिए र अप्रिय सपना क्रूर विपनामा परिणत भएको थियो।
आकाशमा बादल लागेझैँ बाका आँखामा घनघोर दुःख र लाचारी उस्तै थिए। पानी एकोहोरो बर्सिरहेकै थियो। दिदीले बालाई छाता दिइन्। शोकको बेला छाता ओढ्नुहुन्न भन्ने सायद उहाँलाई लागेको थियो। त्यसैले फर्काइदिनुभयो। लास उठ्ने कुनै छाँट थिएन।
डब्बु अझै आएन। फटाहा डब्बु किन आएन?
बा कति लाचार हुनुहुन्थ्यो!


•••
हाम्रो घर करिब-करिब सुनसान भइसकेको थियो। थोरै मानिसमात्र पिँढीमा ढिकी र आटमाथि बसिरहेका थिए। प्रस्ट थियो- ती सबै हाम्रो दुःखबाट सुख प्राप्त गर्ने तमासे थिए। मूलबाटोबाट कोही यतातिर आइरहेको थियो। सायद डब्बु थियो। फटाहा डब्बु किन यति ढिलो आयो? होइन रहेछ, नांगै खुट्टा, हिलोमा च्याप्लाङच्याप्लाङ गर्दै, लड्दैपड्दै शम्भे र कृष्णे बहुला आएका रहेछन्। तिनका हातमा काँचो धागो, सेतो कपडा, अबिर, धुपलगायत अन्तिम संस्कारका सामग्री देखेर बालाई कत्रो ढाडस प्राप्त भएको थियो! (अन्तिम संस्कारका सामान किन्न गएको फटाहा डब्बु कहाँ गायब भयो?)
मानिसहरू मुखामुख गर्न थाले। शम्भे र कृष्णे बहुला बाको अगाडि आएर घोक्राको नशा फुलाईफुलाई रुन थाले। कहिल्यै नरुने बाका आँखाबाट पनि तरक्क-तरक्क आँसु चुहिन थाल्यो।


'लौ बहुला-बहुला भेट भयो, घ्याम्पाजत्रो पेट भयो', गाउँलेहरू हाँसो गर्न थाले।
'दुःख कायमटे पूर्ण भाजु, जिपिँ दु', शम्भे बहुलाले रुन्चे स्वरमा छाती पिट्दै नेवारी भाषामा भनेको थियो, 'दुःख नमान्नुस् पूर्णजी, हामी छौँ।'
शम्भे बहुलालाई कसैले सुनाइदिएछ, तेरो जिगरी दोस्त पूर्ण बहुलालाई आपत् पर्‍या छ। बेलीबिस्तार बुझेपछि शम्भेले कृष्णेलाई सुनायो। मन्दिर आउने प्रेमी-प्रेमिकालाई दुःख सुनाएर उनीहरूले पैसा उठाए र बजारबाट अन्तिम संस्कारका सामान लिएर आए।
तिनीहरूप्रति कृतज्ञताले बाका आँखाबाट तारन्तार आँसु बगिरहेको थियो।
शम्भे र कृष्णे बहुला हाटहुट गर्न थाले।
कसैले चेतावनी दियो, 'बहुला हो, देखा जायगा, लास छुने होइन।'
'अचानाको चोट खुकुरीलाई के थाहा! सबै कुरा आफूलाई परेपछि मात्र थाहा हुन्छ,' शम्भे बहुलाले पनि छाती पिटेर चर्कै चेतावनी दियो, 'देखा जायगा, कसले के गर्दोरहेछ!'
असहायता, अवहेलना र बिजोग बाको अनुहारमा छताछुल्ल पोखिएका थिए। हजुरआमा र दिदीहरूका आँखाबाट आँसु रित्तिएर अब रगत झर्लाजस्तो भएको थियो। गाउँलेहरू घरिघरि गलफत्ती गर्दै लास नछुने भनिरहेका थिए।

छिमेकीहरू गलफत्ती गर्दै आ-आफ्ना घरतिर हिँडे। अब कुनै उपाय थिएन। सबै काममा शम्भे र कृष्णे बहुलासँगै बा खटिनुभयो। रातको १० बजेतिर लास बाँसको खटमा चढाइयो। शम्भे र बाले काँधमा बोक्नुभयो। कृष्णे बहुलाले दाउराको बिटो बोक्यो। दुई दिदी र मैले काँधमा छ्वाली, पराल र दाउरा बोक्यौँ। बाले पुलुक्क हामीलाई हेर्नुभयो। अहो, उहाँका आँखामा कति असम्भार दुःख र लाचारी! सायद बाले पनि हाम्रा आँखामा त्यस्तै दुःख र लाचारी देख्नुभएको थियो।
एउटा कुकुर र एउटा बिराला बालाई पछ्याउन तयार भए। बाले भन्नुभयो, तिमीहरू घरै बस। चितुवाले तिनलाई आक्रमण गर्लान् भन्ने बालाई डर थियो। बालाई पछ्याउन नपाएकामा तिनीहरू गुनासो गर्दै कराउन थाले। फेरि बाको आदेश पाएपछि तिनीरू टुक्रुक्क पिँढीमा बसेर टुलुटुलु बालाई हेर्न थाले।
अब उपाय के थियो त? हामी उहाँहरूको पछि लाग्यौँ। झरी परिरहेको थियो। अन्धकार पहाडजस्तै डम्म उभिएको थियो। हजुरआमा पिँढीमा बसेर रुन थाल्नुभयो। दर्कँदो झरीसँगै चिसो बतास चल्न थाल्यो। शम्भे र कृष्णे बहुला छाती पिट्दै रुन्चे स्वरमा बालाई बारम्बार भनिरहेको थिए, 'पीर कायमटे पूर्ण भाजु, जिपिँ दु।




अभय
(लेखको हालै बजारमा आएको कथासंग्रह 'तेस्रो किनारा'को एउटा कथा)
http://www.nagariknews.com/blog/a-a-a-a-a-a-a-a-a-a-a-a--29266.html
'
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NEPAL TPS IS GONE
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters